आधुनिकताको प्रभावले हराउँदै मौलिक देउसी भैलो : सांस्कृतिक पहिचान जोगाउन चुनौती
तिहार
काठमाडौँ, कार्तिक २६ । तिहारमा घरघरमा माटाका दियो बाल्ने, मौलिक लोकभाकामा देउसीभैलो गाउने र समूहमा गाउँ डुल्दै सुख, शान्ति तथा समृद्धिको कामना गर्ने परम्परा पछिल्लो समय कमजोर बन्दै गएको छ । आधुनिक मनोरञ्जनका माध्यमप्रति बढ्दो आकर्षण, युवा पुस्ताको विदेश पलायन र बसाइँसराइका कारण सुदूरपश्चिमको मौलिक देउसीभैलो संस्कृति विस्तारै ओझेलमा पर्न थालेको छ ।
कुनै समय तिहारमा गाउँका घरघरमा माटाका दियोको उज्यालो र देउसीभैलोका लोकभाकाले छुट्टै रौनक थप्थे । साँझ परेपछि बालबालिका, युवा र वृद्धवृद्धा समूह बनाएर गाउँ डुल्थे । घरका मूलढोका, आँगन, तुलसीको मठ र गोठसम्म दियो बाल्ने चलन थियो । अहिले ती दृश्यको स्थान झिलीमिली विद्युतीय बत्ती र आधुनिक गीतसङ्गीतले लिन थालेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–३ की ७० वर्षीया सरस्वती भट्टलाई पुरानो तिहारको सम्झना अझै ताजै छ । उहाँका अनुसार पहिले तिहारमा माटाका दियो बालेर घरआँगन उज्यालो बनाइन्थ्यो भने गाउँभरि मौलिक देउसीभैलोका भाका गुञ्जिन्थे । अहिले माटाका दियोको प्रयोग घट्दै गएको र परम्परागत गीत कम सुनिन थालेको उहाँको अनुभव छ ।
नवदुर्गा गाउँपालिका–४ की शान्ति कुँवर पनि पहिलेको देउसीभैलोमा रहेको सामूहिकता र आत्मीयता अहिले हराउँदै गएको बताउनुहुन्छ । पहिले साथीभाइ मिलेर समूह बनाउने, घरघरमा पुगेर मौलिक गीत गाउने र घरपरिवारले आफ्नो गच्छेअनुसार धान, चामल, मकै तथा दक्षिणा दिने चलन थियो । त्यसरी सङ्कलित अन्न र पैसाले समूहका सदस्य मिलेर रमाइलो गर्ने गरिन्थ्यो । अहिले भने देउसीभैलोमा सहभागी हुने समूह र परम्परागत रूपमा अन्न दिने चलन दुवै घट्दै गएको उहाँ बताउनुहुन्छ ।
स्थानीय लोक तथा देउडा गायक सुधिर जैरुका अनुसार देउसीभैलोको मौलिकता स्थानीय लोकभाका, परम्परागत बाजागाजा र भट्याउने शैलीमा निहित छ । पहिले देउसीभैलोका गीतमार्फत घरपरिवारको सुख, शान्ति, समृद्धि र उन्नतिको कामना गरिन्थ्यो । तर अहिले डिजेमा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढ्दा मौलिक भाका र सांस्कृतिक प्रस्तुतिको अभ्यास कमजोर हुँदै गएको उहाँको भनाइ छ ।
देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलनको माध्यममात्र होइन, गाउँसमाजमा सामाजिक सद्भाव, सहकार्य र आपसी सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यास पनि हो । यसले बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एउटै समूहमा जोड्दै पुस्ताबीच अनुभव, सीप र संस्कृतिको हस्तान्तरण गर्ने अवसर प्रदान गर्दै आएको छ । तर मौलिक भाकाको अभ्यास घट्नु, युवा पुस्ताको सहभागिता न्यून हुनु र परम्परागत बाजागाजा प्रयोगबाट हराउँदै जानुले यसको निरन्तरतामै प्रश्न उठाएको छ ।
संस्कृतिका जानकार कैलासकुमार पाण्डे समयअनुसार चाडपर्व मनाउने शैली परिवर्तन हुनु स्वाभाविक भए पनि मौलिक परम्परालाई विस्थापित हुन दिन नहुने बताउनुहुन्छ । नयाँ पुस्तालाई पुराना लोकभाका, बाजागाजा, भट्याउने शैली र देउसीभैलोको सामाजिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराउनुपर्ने उहाँको सुझाव छ । विद्यालय, स्थानीय तह र समुदायले यस्ता परम्पराको अभ्यास तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
आधुनिक प्रविधि र मनोरञ्जनका नयाँ माध्यमलाई निषेध गरेर मात्रै मौलिक संस्कृति जोगाउन सम्भव छैन । बरु आधुनिकतासँगै परम्परालाई पनि स्थान दिने वातावरण बनाउन आवश्यक छ । स्थानीय स्तरमा मौलिक देउसीभैलो प्रतियोगिता, पुराना भाका तथा बाजागाजाको अभिलेखीकरण र नयाँ पुस्ताको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न सके यसले निरन्तरता पाउन सक्छ ।
तिहारको सांस्कृतिक पहिचान केवल झिलीमिली बत्ती र मनोरञ्जनमा सीमित छैन । यसभित्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामूहिकता, सद्भाव र मौलिक लोकजीवन जोडिएको छ । त्यसैले देउसीभैलोको परम्परा जोगाउनु एउटा चाडको रौनक कायम राख्नु मात्र नभई स्थानीय भाषा, कला, संस्कृति र सामाजिक सम्बन्धको संरक्षण गर्नु पनि हो । समयमा नै संरक्षणका प्रयास नगरिए सुदूरपश्चिमको मौलिक देउसीभैलो भावी पुस्ताका लागि स्मृतिमा सीमित हुने जोखिम छ ।
