एमालेको मियो, देशको दियो सुवासको महाप्रस्थानमा देखिएका कारुणिक दृष्यहरु (भिडियो रिपोर्ट)
काठमाडौं, २६ भदौ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ काठमाडौं सुनसान बनेका बेला मध्यरातमा यो धर्तीबाट अलप हुनुभयो । मृत्युको अघिल्लो दिनसम्म पनि मृदुभाषी नेम्वाङले आफ्नो बेदाग छविलाई जिवित राख्दै आउनु भएको थियो । तर, काठमाडौँ मस्त निद्रामा रहेका बेला नेम्वाङ मध्यरातमा कहिल्यै नउठ्ने गरी अस्ताएको खवर बिहानीपखसम्म पनि धेरैका लागि अपत्यारिलो लागेको थियो । तर, सत्य त्यहि थियो । नेम्वाङको शरीर थियो तर प्राण थिएन ।
नेकपा (एमाले)का उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि एमाले मुख्यालयमा राख्ने जानकारीसँगै मुख्यालयमा थामिनसक्नुको भीड बिहानैदेखि थियो । राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै जब नेम्वाङको पार्थिव शरीरलाई नेपाली सेनाले एमाले मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्यायो । त्यहाँको माहोल नै फरक खालको देखिएको थियो ।
मृत्यु पनि मान्छे पिच्छे फरक हुँदोरहेछ ! जनताको छोरो मर्दा देशै रुँदो रहेछ भन्ने जनगायक जेबी टुहुरेको कालजयी गीत जस्तै एमाले मुख्यालयमा उपस्थित नेता, कार्यकर्ता र सुभेच्छुक मात्रै होइन वास्तवमा भन्ने हो भने उहाँको महाप्रस्थानले देश नै रोइरहेको अनुभूति हुन्थ्यो ।
मृत्यु पनि मान्छे पिच्छे फरक हुँदोरहेछ ! जनताको छोरो मर्दा देशै रुँदो रहेछ भन्ने जनगायक जेबी टुहुरेको कालजयी गीत जस्तै एमाले मुख्यालयमा उपस्थित नेता, कार्यकर्ता र सुभेच्छुक मात्रै होइन वास्तवमा भन्ने हो भने उहाँको महाप्रस्थानले देश नै रोइरहेको अनुभूति हुन्थ्यो
बेदाग नेताको मृत्युले त्यहाँ के एमाले, के काँग्रेस, के माओवादी, के राप्रपा पार्थिव शरीरमा श्रद्धाञ्जलि व्यक्त गर्न आएका सबैका आँखामा आँसु टिलपिलटिलपिल भएको कारुण दृष्यले त्यहाँको माहोल नै कठिन बनाएको अनुभूति हुन्थ्यो ।
नेम्वाङको मृत्युपछि बिहानै आफ्ना लागि पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख–दुःखको साथी गुमाएको भन्दै कारुणिक सन्देश सार्वजनिक गर्नुभएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक संविधान निर्माणमा अमूल्य योगदान गर्नुभएका मृदुभाषी, विनम्र, शालीन सुवासको तुलसीलाल स्मृति भवनमा मुढो बनेर लडिरहेको शवलाई झण्डा ओडाउँदै गर्दा उहाँ शान्त बन्नुभएको थियो ।
आँखाका डिलबाट झर्दै गरेको आँसुका भेललाई लुकाउँदै उहाँले सुवासको शवमा झण्डा ओडाउनु भयो । उहाँसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादलले पनि श्रद्धाञ्जलि अर्पण गर्नुभयो । महासचिव शंकर पोखरेल विदेश भ्रमणमा रहेका कारण त्यहाँ उपस्थित हुन सक्नु भएको थिएन भने उपमहासचिव प्रदीप ज्ञवाली,पृथ्वी सुब्वा गुरुङ, विष्णुुु रिमाल, सचिवहरु योगेश भट्टराई, गोकर्ण विष्ट, छविलाल विश्वकर्मालगायतले पनि पालैपालो श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय पुग्नु भएको थियो । स्मृति प्रतिष्ठानको भवन भित्र राखेको शवमा माल्यापर्ण गर्दा भावुक बन्नु भएकी भण्डारी बाहिर विश्रामस्थलमा आएर केहीबेर एमाले अध्यक्ष ओलीसहितका नेतासँग बस्नु भएको थियो ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय पुग्नु भएको थियो । स्मृति प्रतिष्ठानको भवन भित्र राखेको शालिकमा माल्यापर्ण गर्दा भावुक बन्नु भएकी भण्डारी बाहिर विश्रामस्थलमा आएर केहीबेर एमाले अध्यक्ष ओलीसहितका नेतासँग बस्नु भएको थियो
श्रद्धाञ्जलिका लागि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्र्ेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पनि पुग्नु भएको थियो । त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपसभामुख ईन्दिरा राना, मन्त्रीहरु नरायणकाजी श्रेष्ठ, प्रकाशसरण महत, पूर्व सभामुख अग्नीप्रसाद सापकोटालगायत पनि पुग्नु भएको थियो ।
कांग्रेस, एमाले, माओवादी, राप्रपाका नेताहरु पनि श्रद्धाञ्जलिका लागि एमाले मुख्यालय पुग्नु भएको थियो । नेम्वाङ २००९ फागुन २८ गते इलामको सुन्तलाबारीमा जन्मिनुभएको हो । २०४८ र २०५२ सालमा गरी दुईपटक राष्ट्रिय सभाको सदस्य हुनुभएका नेम्वाङ २०५६ मा इलामबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
उहाँ २०६३ सालको पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो । उहाँ २०६४ र २०७० सालमा भएका दुईवटा संविधान सभा निर्वाचनमा पनि इलाम–२ विजयी बनेर संविधानसभा अध्यक्ष बन्नुभई संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
उपाध्यक्ष नेम्वाङ २०७४ र २०७९ का प्रतिनिधि सभा सदस्यमा पनि इलाम–२ बाट निर्वाचित हुनुभएको थियो । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण आज अपरान्ह ५ बजेसम्म जारी रहेको थियो । भोलि बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था रहेको एमालेले जानकारी दिएको छ ।