पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सघन उपचारका २५ शय्या थप
सघन उपचार
काठमाडौँ, कार्तिक ३ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सघन उपचारका लागि २५ शय्या थप गरिएको छ । नयाँ सघन उपचार कक्ष सञ्चालनमा आएसँगै अस्पतालमा सघन उपचारका लागि उपलब्ध शय्या सङ्ख्या ३५ पुगेको छ ।
प्रतिष्ठानका निर्देशक डा. झपिन्द्र पोखरेलका अनुसार नयाँ कक्षमा १६ शय्याको सघन उपचार कक्ष (आइसियू), आठ शय्याको कोरोनरी केयर युनिट र एक शय्याको आइसोलेसन आइसियू सञ्चालनमा ल्याइएको छ ।
यसअघि अस्पतालमा १० शय्याको आइसियू सञ्चालनमा थियो । प्रतिष्ठानले रु एक करोड थप लगानी गरी नयाँ उपचार कक्ष सञ्चालनमा ल्याएको हो ।
सघन उपचार कक्षमा बिरामीको चाप बढ्दै गएपछि थप शय्या र उपचार पूर्वाधार विस्तार गरिएको निर्देशक पोखरेलले बताउनुभयो । नयाँ कक्ष सञ्चालनमा आएपछि गम्भीर अवस्थाका बिरामीको उपचार सहज हुने उहाँको भनाइ छ ।
गण्डकी प्रदेशको सुविधासम्पन्न सरकारी अस्पतालका रूपमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रदेशका ११ वटै जिल्लाका साथै अन्य जिल्लाबाट समेत उपचारका लागि बिरामी आउने गरेका छन् ।
अस्पतालले दैनिक करिब दुई हजार बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । थपिएका सघन उपचार शय्याले विशेषगरी गम्भीर अवस्थाका बिरामीलाई उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
