नेप्से ३९.४८ अंककाे वृद्धि, २००० विन्दुमाथि उक्लियो नेप्से

काठमाडाैं, २७ भदाै । नेप्से परिसूचक २००० विन्दु माथि उक्लिएको छ। बुधबार नेप्से परिसूचक ३९.४८ अंक बढेर २००७.०६ विन्दुमा पुगेकाे हाे । यस दिन सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७५ स्टकको ३६ हजार ४५ पटकको कारोबारमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बरुण हाइड्रोपावर र शुभम् पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तैगरी, यस दिन समता घरेलु लघुवित्त र अरुण काबेली पावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
त्यस्तैगरी, यस दिन सोल्टी होटल र एभरेष्ट बैंकको ६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ।