पाकिस्तानलाई हराउँदै एसिया कपको फाइनल पुग्यो श्रीलंका

एजेन्सी, २९ भदाै । एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै श्रीलंका फाइनलमा प्रवेश गरेको छ।

कोलम्बोको आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएकाे खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंका फाइनलमा पुगेको हो।

पाकिस्तानले दिएको २५३ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो ।

श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए ।

मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरेका थिए । भने चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । अन्तिम ६ बलमा जितको लागि श्रीलंकालाई ८ रन चाहिएको थियो ।

डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउदै खेलेका थिए ।

त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याए ।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ तथा शाहिन शाह अफ्रिदीले २ विकेट लिए । शादब खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।

डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ५२ रनकै लक्ष्य पाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले ।

मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए । शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।

ईफ्तिखार अहमदले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए ।

साबिकको विजेता श्रीलंकाले आईतबार भारतसंग उपाधीको लागि खेल्ने छ ।