सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बिरामी बढ्न थाले

सर्लाही, २९ भदौ । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ ।

सर्लाहीका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका हुन् ।

निरन्तर एक साता परेरकाे पानीले मौसम परिवर्तन भएपछि जिल्लाभर भाइरल ज्वरोको सङ्क्रमण तीव्ररूपमा फैलिएको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा नवलकिशोर झाले जानकारी दिनुभयो ।

हिजोआज उपचारका लागि आउने बिरामीमध्ये अधिकांशमा भाइरल फिभर (सरुवा ज्वरो)को सङ्क्रमण देखिएको लालबन्दी मोडल अस्पतालका प्रमुख डा आलोककुमार कुशवाहको भनाइ छ । उहाँका अनुसार त्यस्ता बिरामीमा घाँटी दुख्ने, कमजोरी महसुस हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखिने गरेको छ ।

लालबन्दी, नवलपुर, हरिवन, बागमतीलगायत स्थानका निजी तथा सरकारी स्वास्थ्य संस्थामा दैनिक १० देखि १५ जनासम्म भाइरल ज्वरो सङ्क्रमण भएका बिरामी उपचारका लागि पुग्ने गरेका लालबन्दी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ठाउँको तुलनामा लालबन्दी, नवलपुर र हरिवनका निजी स्वास्थ्य संस्थाका साथै सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामीको चाप बढी देखिएको छ ।

जिल्लाभर डेङ्गु सङ्क्रमित पनि बढिरहेका छन् भने भाइरल फिभरको विवरण आउन बाँकी रहेको प्रादेशिक अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा झाले बताउनुभयो । उहाँका अनुसार जिल्लाभर डेङ्गुका ६१ जना सङ्क्रमित रहेका छन् ।