भोटेकोशी बाढी प्रभावित बालिकालाई १८ वर्षसम्म मासिक १७ हजार ५०० सहायता

काठमाडौँ, मंसिर ११ । भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण तथा स्याहारका लागि सरकारले विशेष सहायता कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत बाढीमा श्रीमान् गुमाएकी रसुवाको आमाछोदिङ्मो गाउँपालिका ५ गोल्जुङबेसीकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई मासिक १७ हजार ५०० उपलब्ध गराउन थालिएको छ ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादीले बिहीबार पीडित महिलाको बैंक खातामा पहिलो महिनाको सहायता रकम जम्मा गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो । उक्त बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक उक्त रकम प्राप्त गर्नेछिन् ।

मन्त्री वादीका अनुसार बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई समेत दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिनेछ । बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई ध्यानमा राखेर सहायता कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

उहाँले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पार्नुभयो । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उहाँको भनाइ थियो ।

बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखेर उद्धार, संरक्षण र पुनःस्थापनाका काम अघि बढाइने मन्त्री वादीले बताउनुभयो । उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीका लागि राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको छ । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटिजीएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थामार्फत संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा परिचालित छन् । ती टोलीले बालबालिकाको अवस्था पहिचान, जोखिम मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माण गरिरहेका छन् । स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि पहिलो चरणमा उनीहरूलाई सहायता उपलब्ध गराइएको हो ।

मन्त्री वादीका अनुसार साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ ।

मन्त्रालयको बालकोषमा रु सात करोड रहेको जानकारी दिँदै मन्त्री वादीले बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको बताउनुभयो । उक्त कार्यक्रमले विपद्बाट प्रभावित बालबालिकाको दीर्घकालीन सुरक्षा, पालनपोषण र पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *