मलेसिया रोजगारी प्रकरण : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं,११ मङ्सिर । नेपाली श्रमिकलाई गैरकानुनी रूपमा वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित १० जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित १० जनामाथि अनुसन्धानका लागि थप म्याद लिएको हो । सिआइबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले अदालतबाट थप हिरासतको अनुमति प्राप्त भएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय कुँवर र यादव, तत्कालीन श्रम मन्त्रालयका सचिव विनोद केसी, महाशाखाका तत्कालीन प्रमुख उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङलगायत छन् । अन्य पक्राउ पर्नेमा कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारी रहेका छन् ।
यसै प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई समेत पक्राउ गरेको जनाएको छ । मलेसिया रोजगारीका नाममा नेपाली श्रमिकसँग ठगी गरी सङ्कलन गरिएको रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र तथा विकास रानाभाटसहितका व्यक्तिले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । पक्राउ परेकाहरूमाथि ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ ।
