रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता
काठमाडौँ, मङ्सिर ११ । नेपालले रासायनिक हतियारमुक्त विश्व निर्माण तथा रासायनिक हतियार निषेध महासन्धिका उद्देश्य र सिद्धान्तको पूर्ण कार्यान्वयनप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । नेदरल्यान्ड्सको हेगमा जारी रासायनिक हतियार निषेध सङ्गठन (ओपिसिडब्ल्यु) को सदस्य राष्ट्रहरूको सम्मेलनको ३१औँ अधिवेशनलाई सम्बोधन गर्दै बेनेलक्स मुलुकका लागि नेपाली राजदूत तथा ओपिसिडब्ल्युका लागि नेपालका स्थायी प्रतिनिधि सेवा लम्सालले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
ब्रसेल्सस्थित नेपाली दूतावासका अनुसार राजदूत लम्सालले निरस्त्रीकरण र अप्रसारलाई नेपालको परराष्ट्र नीतिका आधारभूत स्तम्भका रूपमा उल्लेख गर्दै विश्व शान्ति, शान्तिपूर्ण सहअस्तित्व र अन्तरराष्ट्रिय सहयोगका सिद्धान्तप्रति नेपालको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कुनै पनि परिस्थितिमा रासायनिक हतियारको विकास, उत्पादन, प्राप्ति, भण्डारण, प्रसार तथा प्रयोगको नेपालले विरोध गर्दै आएको स्पष्ट पार्नुभयो । साथै, अतिकम विकसित मुलुकको संस्थागत, प्राविधिक तथा जनशक्ति क्षमता अभिवृद्धिका लागि ओपिसिडब्ल्युको निरन्तर सहयोग, तालिम र क्षमता विकासका कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।
विज्ञान तथा प्रविधिमा भइरहेका पछिल्ला विकासले सिर्जना गर्न सक्ने चुनौतीप्रति पनि नेपालले चासो व्यक्त गरेको छ । विशेषगरी कृत्रिम बौद्धिकता र जैविक प्रविधिको विकासबाट उत्पन्न हुन सक्ने जोखिम सम्बोधन गर्न सदस्य राष्ट्रबीच निरन्तर संवाद, सहकार्य र समन्वय आवश्यक रहेको नेपालले जनाएको छ ।
ब्रसेल्सस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा रासायनिक हतियारको पूर्ण उन्मूलन तथा महासन्धिको प्रभावकारी कार्यान्वयनका लागि अन्तरराष्ट्रिय सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा नेपालले जोड दिएको उल्लेख छ ।
