हेंवाखोलामा डाइभर्सन नबन्दा आठ महिनादेखि यातायात प्रभावित
काठमाडौँ, मंसिर ११ । निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास नहुँदा आठ महिनादेखि यातायात सञ्चालन प्रभावित भएको छ । डाइभर्सन नहुँदा दुई तथा तीनपाङ्ग्रे र साना चारपाङ्ग्रे सवारीसाधन यस खण्डबाट आवतजावत गर्न सकेका छैनन् ।
खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोरको फिदिम–मुलघाट खण्डमा यातायात नियमित भए पनि फिदिम–काबेली खण्डमा भने ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवाखोलामा हिउँदमा समेत पानीको बहाव पर्याप्त रहेकाले साना सवारीसाधन वारपार गर्न नसक्ने अवस्था रहेको स्थानीयवासीले बताएका छन् ।
हिलिहाङ गाउँपालिका–७ माझीटारका रामकुमार माझीका अनुसार तमोर करिडोरको उक्त खण्ड निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि पुरानो डाइभर्सन रहेको स्थानमा ठूला सवारीसाधन आवतजावत गर्न मिल्ने संरचना बनाएको छ । तर साना सवारीसाधनका लागि डाइभर्सन निर्माण नगर्दा स्थानीयले सास्ती बेहोर्नुपरेको उहाँले बताउनुभयो ।
डाइभर्सन नहुँदा हिलिहाङ गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । सदरमुकाम फिदिम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हिलिहाङ–५ का वीरेन्द्र मङ्ग्रातीले बताउनुभयो । निर्माण कम्पनी र आयोजना पक्षको बेवास्ताका कारण स्थानीयले अनावश्यक दुःख पाएको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायलाई तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
फिदिम–४ माझीटारका व्यवसायी रमेश तामाङले सामान्य डाइभर्सन निर्माणसमेत नहुँदा यात्रु र स्थानीय व्यवसायी दुवै प्रभावित भएको बताउनुभयो । लामो र घुमाउरो बाटो प्रयोग गर्नुपर्दा यात्रुलाई समस्या भएको तथा माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित बनेको उहाँको भनाइ छ ।
गत चैतदेखि लगातार भएको वर्षाका कारण यसअघि निर्माण गरिएको डाइभर्सन टिक्न नसकेपछि यस खण्डमा यातायात अवरुद्ध भएको हो । विगतका वर्षमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिँदै आए पनि यस वर्ष आठ महिनासम्म समस्या समाधान हुन नसकेको स्थानीयवासीको गुनासो छ । उनीहरूले फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरी तत्काल डाइभर्सन निर्माणको काम अघि बढाउन माग गरेका छन् ।
हेंवाखोलामा तमोर करिडोर सडकको पुल निर्माण हुन बाँकी छ । खोलामा रहेको बेलिब्रिज र किनारको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि वैकल्पिक रूपमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएको थियो । विगतमा नियमित मर्मत तथा पुनर्निर्माण हुँदै आएको डाइभर्सन यस वर्ष निर्माण कम्पनीले चासो नदिँदा पुनःनिर्माण हुन नसकेको स्थानीयवासीको आरोप छ । पुल निर्माणमा समेत प्रगति नहुँदा समस्या थप लम्बिएको भन्दै उनीहरूले आयोजना र निर्माण कम्पनीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
