फोहरलाई ऊर्जामा रूपान्तरण गर्ने प्रणालीलाई सिकाइ केन्द्र बनाउँछौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौँ, १० मङ्सिरः काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहरलाई स्रोतमा घटाउँदै ऊर्जामा रूपान्तरण गर्ने प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्न टेकुस्थित बायोग्यास प्लान्टलाई सिकाइ केन्द्रका रूपमा विकास गरिने बताउनुभएको छ । उहाँले प्लान्टलाई व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने सम्भावना रहे पनि यसको सिकाइबाट देशभर शून्य फोहर र ‘वेस्ट टु इनर्जी’ अवधारणा कार्यान्वयनमा सहयोग पुग्ने गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ जलवायु कार्य सप्ताहको अवसरमा टेकु ट्रान्सफर स्टेसन परिसरमा रहेको बायोग्यास प्लान्ट बिहीबारदेखि परीक्षणका लागि पुनः सञ्चालनमा ल्याइएको हो । ऊर्जा तथा जलस्रोतमन्त्री विराजभक्त श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोलले संयुक्त रूपमा प्लान्टको शुभारम्भ गर्नुभयो । लामो समयदेखि प्राविधिक कारणले बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याउन महानगरपालिकाले गत साउन १८ गते वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता गरेको थियो । विश्व बैंकको सहयोगमा केन्द्रले करिब रु एक करोड ८० लाख लागतमा प्रणालीको स्तरोन्नति गरेको हो ।

टेकुमा पुनः सञ्चालनमा आयो बायोग्यास प्लान्ट, दैनिक तीन सय घनमिटर ग्यास उत्पादन हुने

कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले सरकारले पाइपलाइनमार्फत ग्यास वितरण गर्ने नीति ल्याए महानगरपालिकाले त्यसको कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । ल्यान्डफिल साइटबाट उत्सर्जन हुने मिथेन ग्यासको मात्रा घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ थियो ।

उहाँले फोहर व्यवस्थापनलाई केवल विसर्जनको विषयका रूपमा नभई स्रोतको उपयोग र ऊर्जा उत्पादनसँग जोड्नुपर्ने उल्लेख गर्दै भन्नुभयो, ‘यसलाई व्यावसायिक मोडेलमा पनि सञ्चालन गर्न सकिन्छ । तर, हामी यसलाई सिकाइ केन्द्रका रूपमा सञ्चालन गर्न चाहन्छौँ । यहाँको सिकाइले देशैभरि शून्य फोहर र वेस्ट टु इनर्जीको अवधारणा कार्यान्वयनमा बाटो बनोस् ।’

ऊर्जा तथा जलस्रोतमन्त्री श्रेष्ठले भावी पुस्तालाई वातावरणीय असरबाट जोगाउन महानगरपालिकाले गरेको प्रयासको प्रशंसा गर्नुभयो । जलवायु परिवर्तनको विषय राजनीतिक सीमाभन्दा माथि रहेको साझा मुद्दा भएको उल्लेख गर्दै उहाँले प्लान्टबाट उत्पादित ग्यासबाट विद्युत् उत्पादन गर्न सुझाव दिनुभयो । उत्पादित विद्युत् दिउँसो कार्यालय प्रयोजन र राति सडक बत्ती बाल्न उपयोग गर्न सकिने उहाँको भनाइ थियो । यसका लागि विद्युत् खरिद सम्झौता (पीपीए) गर्न मन्त्रालयले सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

महानगरपालिकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत युरोपेली सङ्घको सहकार्यमा विसं २०७० देखि परीक्षण सुरु गरिएको यो प्लान्ट २०७४ सालदेखि सञ्चालनमा आएको थियो । निर्माणका क्रममा युरोपेली सङ्घले रु चार करोड ६० लाख र महानगरपालिकाले रु एक करोड ८२ लाख लगानी गरेका थिए । दैनिक तीन मेट्रिक टन जैविक फोहर प्रशोधन गर्ने क्षमता रहेको प्लान्टबाट १४ किलोवाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले परीक्षण अवधिमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययन गरेर प्लान्टलाई दिगो संयन्त्रमार्फत सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले महानगर क्षेत्रबाट उत्पादन हुने फोहरलाई ऊर्जामा रूपान्तरण गर्ने कार्यमा केन्द्रले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

विश्व बैंकका वरिष्ठ सञ्चालन व्यवस्थापक रीता ढकालले जलवायु परिवर्तन विश्वव्यापी विषय भए पनि यसको असर स्थानीयस्तरमा देखिने भएकाले स्थानीय समस्याको समाधान स्थानीय तहमै खोज्ने महानगरपालिकाको प्रयास सराहनीय रहेको बताउनुभयो ।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रका ऊर्जा विज्ञ सुशिम मान अमात्यका अनुसार प्लान्ट कन्टिन्युअस्ली स्टिर्ड ट्याङ्क रियाक्टर (सीएसटीआर) मोड्युलर प्रविधिमा आधारित छ । यसमा जैविक फोहरलाई टुक्रा बनाएर प्राथमिक डाइजेस्टरमा पठाइन्छ । त्यसपछि दोस्रो डाइजेस्टरमा प्रशोधन गरी ग्यास उत्पादन गरिन्छ । पहिलो डाइजेस्टरमा राखिएको जैविक फोहरबाट ग्यास उत्पादन हुन करिब ४० दिन लाग्छ ।

दैनिक तीन मेट्रिक टन जैविक फोहर प्रशोधन गर्दा करिब ३०० घनमिटर बायोग्यास उत्पादन हुने उहाँले जानकारी दिनुभयो । यो परिमाण करिब १० सिलिन्डर एलपी ग्यास बराबर हो । उत्पादित ग्यासमा मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइड रहने भएकाले फिल्टर प्रणालीबाट हाइड्रोजन सल्फाइड हटाई चिस्याउने प्रक्रियामार्फत पानीको मात्रा निकालिन्छ । त्यसपछि प्रशोधित ग्यासलाई ट्याङ्कीमा भण्डारण गरी वितरण गर्न सकिन्छ ।

हालको प्रणालीबाट करिब एक हजार ५०० मिटरसम्म ग्यास वितरण गर्न सकिने अमात्यले बताउनुभयो । उत्पादित ग्यास विद्युत् उत्पादन, ग्यास टेम्पो सञ्चालन तथा पाइपलाइनमार्फत घरघरमा खाना पकाउन प्रयोग गर्न सकिन्छ । प्रशोधन प्रक्रियाबाट निस्कने जैविक पदार्थलाई मलका रूपमा उपयोग गर्न सकिने उहाँले जानकारी दिनुभयो । यसरी जैविक फोहरको व्यवस्थापनसँगै ऊर्जा र प्राङ्गारिक मल उत्पादन गर्न सकिने भएकाले प्लान्टलाई शून्य फोहर अवधारणा कार्यान्वयनको नमुनाका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *