वाणिज्य बैंकको निक्षेपमा अधिकतम ११.३५ प्रतिशत ब्याजदर, सातले बढाए, केहीले घटाए

काठमाडाैं, ३१ भदाै । केही वाणिज्य बैंकहरूले असोजका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्। भने केहीले घटाएका छन् ।
२० वाणिज्य बैंकमध्ये सात वटा बैंकले बढाएर ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले असोजमा राखिने मुद्दती निक्षेपमा अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। भदौमा बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम १०.८९६ प्रतिशत ब्याजदर दिएका थिए।
प्राइम कमर्सियल, नेपाल एसबिआई, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएका छन्।
यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम सात प्रतिशतदेखि अधिकतम ११.०५ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिटेन्स मुद्दती खातामा भने योभन्दा बढी ब्याजदर पाइन्छ।
त्यस्तै, ५ वटा वाणिज्य बैंकले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। प्राइम कमर्सियल, हिमालयन, कृषि विकास, नबिल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ब्याजदर बढाएका हुन्।
असोजमा वाणिज्य बैंकहरूले साधारण बचतमा न्यूनतम ४.९५ प्रतिशतदेखि ८.३५ प्रतिशतसम्म ब्याजदर दिने भएका छन्। भदौमा वाणिज्य बैंकहरूले ४.९७ प्रतिशतदेखि ७.९६ प्रतिशतसम्म ब्याजदर दिइरहेका थिए।
धेरै वाणिज्य बैंकहरूले असोजमा मुद्दती निक्षेपको ब्याजदर घटाउनेछन् भन्ने अपेक्षा विपरीत बैंकहरूले ब्याजदर बढाएका हुन्।
असोजको लागि आठ वटा वाणिज्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बाँकीको ब्याजदर भने स्थिर छ।