नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

काठमाडाैं, २ असाेज । मंगलबार (नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६.२४ अङ्कले बढेर १९८५.४३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.४३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ८७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७२ स्टकको ५० हजार २९६ पटकको कारोबारमा १ र्अ १७ करोड ६६ लाख रुपैयाँ बराबरको ४३ लाख ३६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १० करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ओरियन्टल होटलको ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन सर्वाधिक शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमध्ये ९ जलविद्युत कम्पनी रहेका छन्। जसमध्ये तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन बलेफी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने पञ्चकन्या माइ हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर लगायतका कम्पनीहरुको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन इमर्जिङ्ग नेपालको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशत बढेको छ।