यू-१९ साफ च्याम्पियनमा नेपाल-पाकिस्तान भिड्दै

काठमाडौं, ४ असाेज । यू-१९ साफ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। काठमाडौंकाे दशरथ रंगशालामा हुने उद्घाटन खेल आज दिउँसाे १ बजेदेखि सुरू हुन लागेकाे हाे ।

साढे १ बजे हुने खेलमा पहिले बंगलादेश र भारत खेल्नेछन् । नेपाल र पाकिस्तानको खेल साँझ साढे ५ बजे सुरु हुनेछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार प्रि–म्याच कन्फरेन्स भएकाे थियाे । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पाकिस्तानी टोली बुधबार मात्र काठमाडौं आइपुगेको हाे। पाकिस्तान पहिलोपटक यो प्रतियोगितामा सहभागी हुन लागेको हो।

यसअघि अन्डर–ट्वेन्टी र अन्डर–एटिन फर्म्याटमा भएका प्रतियोगितामा नेपाल र भारत समान दुई–दुईपटक च्याम्पियन बनेका छन्। नेपाल सन् २०१५ मा घरेलु मैदानमा भएको पहिलो संस्करण र २०१७ मा च्याम्पियन बनेको थियो।

भारत पछिल्ला दुई संस्करणको विजेता हो। दुवैपटक नेपाल फाइनल पुग्न नसक्दा बंगलादेश उपविजेता बनेको थियो। यसपटक देशभरबाट छानिएका दुई सय खेलाडीमध्येबाट नेपालको टिम तयार पारिएको छ।

पछिल्लो समय भारतले साउदी अरेयिबासँग दुई अभ्यास खेल खेलेको थियो। योपटक पनि सहभागी ६ टिममध्ये आफू बलियो दाबेदार भएको भारतीय टिमका प्रशिक्षक सुवेन्दु पाण्डाको भनाइ छ।

साफका लागि बंगलादेशले चार साताको अभ्यास गरेको छ। माल्दिभ्सले बाँकी टिमको तुलनामा व्यावसायिक खेलाडी ल्याएको छ। भुटानले पनि राम्रो तयारीका साथ नेपाल आएको बताएको छ। ६ टोली सहभागी प्रतियोगितामा नेपाल रहेको समुहमा माल्दिभ्स र पाकिस्तान छन्।

समूह बीमा भारत, बंगलादेश र भुटान रहेका छन्। समूहका शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।