सभामुख देवराज घिमिरे आयरल्याण्ड भ्रमणबाट स्वदेश फिर्ता
काठमाडौं, ७ असोज । सभामुख देवराज घिमिरे आयरल्याण्डको भ्रमण सकेर स्वदेश फर्किनु भएकाे छ । आयरल्याण्डको एक हप्ताकाे भ्रमण सकेर सभामुख घिमिरे आइतबार स्वदेश फर्किनु भएकाे हाे ।
सभामुख घिमिरे फर्किनुभएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उहाँले भ्रमणका क्रममा आयरल्याण्डका राष्ट्रपति, माथिल्लो सदनका अध्यक्ष, तल्लो सदनका सभामुख, शिक्षा मामिला हेर्ने राज्यमन्त्री लगायतसँग भेटवार्ता गर्नुभएकाे जानकारी दिनुभयाे ।
भेटका क्रममा उहाँले नेपाली विद्यार्थीका लागि सहज भिसा तथा छात्रवृत्तिको व्यवस्था, क्यान्सर लगायतका रोगको उपचार तथा नेपालका हिमाल आरोहण लगायतका विषयमा छलफल गर्नुभएकाे जानकारी दिनुभयाे ।
नेपाली दक्ष तथा अदक्ष जनशक्तिका लागि रोजगारीको अवसर सिर्जना, बेलायतको भिसा भएका नेपालीहरुलाई आयरल्याण्ड भ्रमणमा सहजीकरण गर्ने, आगामी दिनमा नेपालबाटै आयरल्याण्डका लागि भिसाको प्रवन्ध गर्ने, नेपालमा आइरिस लगानी भित्र्याउनेबारेमा र जलवायु परिवर्तन लगायत विषयमा विश्व मञ्चमा साझा सहकार्य गर्नेबारेमा पनि छलफल भएकाे बताउनुभयाे ।
सभामुख घिमिरेकाे टाेली भदौ ३१ गते आयरल्याण्ड प्रस्थान गर्नुभएकाे थियाे ।