मौलिक देउसीभैलो प्रतियोगितामा पुन समाज पोखरा प्रथम

मौलिक देउसीभैलो

काठमाडौँ, कार्तिक २५ । नेपाली मौलिक देउसीभैलोको संरक्षण तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित प्रतियोगितामा पुन समाज पोखरा प्रथम भएको छ ।

पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिकाको पर्यटन प्रवर्द्धन शाखा र पब्लिक फोरके टेलिभिजनको संयुक्त आयोजनामा पोखरा–६ लेकसाइडस्थित गौरीघाटमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी ११ समूहलाई पछि पार्दै प्रथम भएको पुन समाजले नगद रु २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

नेपाली चाडपर्वसँग जोडिएका मौलिक कला, संस्कृति र परम्परा आधुनिकताका कारण ओझेलमा पर्दै गएका बेला आयोजित प्रतियोगिताले पुरानो पुस्ताबाट नयाँ पुस्तामा सांस्कृतिक हस्तान्तरणको सन्देश दिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी समूहले परम्परागत वेशभूषा, मौलिक भाका, शब्द, लय र तालमार्फत देउसीभैलो प्रस्तुत गरेका थिए ।

प्रतियोगी समूहको मूल्याङ्कन मौलिकता, परम्परागत भाका, शब्द, लय, ताल, वेशभूषा र सांस्कृतिक प्रस्तुतिका आधारमा गरिएको थियो । प्रतियोगिताको मुख्य निर्णायकमा पोखरा प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति पद्मराज ढकाल रहनुभएको थियो ।

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय ओझेलमा पर्दै गएको उल्लेख गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नयाँ पुस्तालाई मौलिक संस्कृति र परम्परासँग जोड्न यस्ता प्रतियोगिता प्रभावकारी हुने उहाँको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक देउसीभैलोको संरक्षणसँगै पोखराको सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले नेपाली चाडपर्व र सांस्कृतिक परम्परालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सके पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने धारणा राख्नुभयो ।

प्रतियोगितामा सहभागी सबै समूहलाई नेपाली परम्पराअनुसार दानदक्षिणासहित बिदाइ गरिएको थियो । आयोजकका अनुसार प्रत्येक समूहलाई चामल, फलफूल, सेलरोटी, नगद रु पाँच हजार ५५५ र प्रमाणपत्र प्रदान गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का महासचिव मिलन तिवारीले प्रतियोगितामा स्थानीय समूहका साथै स्वदेशी तथा विदेशी पर्यटकको समेत उल्लेख्य सहभागिता रहेको जानकारी दिनुभयो । मौलिक देउसीभैलो विदेशी पर्यटकका लागि नेपाली संस्कृति बुझ्ने र प्रत्यक्ष अनुभव गर्ने अवसर बनेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले मौलिक संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकसाथ जोडेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पोखरालाई प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *