कोप-३१ मा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानीबारे छलफल
काठमाडौँ, कात्तिक २४ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप-३१) अन्तर्गत नेपाल पभिलियनमा ‘जलवायु उत्थानशील ऊर्जा पूर्वाधार र स्वच्छ ऊर्जा लगानी’ विषयमा छलफल गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपिसी) र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संयुक्त आयोजनामा आज सम्पन्न साइड इभेन्टमा ऊर्जा पूर्वाधारमा जलवायु परिवर्तनले पारेको असर, क्षति न्यूनीकरण तथा स्वच्छ ऊर्जामा लगानी अभिवृद्धिका उपायबारे छलफल भएको हो ।
प्रतिनिधिसभा सदस्य सागर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एसियाली प्रविधि संस्थान (एआईटी), थाइल्यान्डका प्राध्यापक प्राडा शोभाकर ढकालले प्रमुख वक्ताका रूपमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण मिडल इस्ट टेक्निकल युनिभर्सिटी, टर्कीका होराइजन युरोप एमएससीए पोस्टडक्टोरल शोधकर्ता डा. मुकेश घिमिरेले गर्नुभएको थियो ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार इन्जिनियर शिरीष पाण्डे, इप्पानकी कार्यसमिति सदस्य ज्योति गैरे र ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई), दक्षिण कोरियाका वित्तीय रणनीतिक सहयोग एकाइ प्रमुख गुल्शन वशिष्ठ सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रमको पहिलो सत्रमा ऊर्जा पूर्वाधारमा हालै भएका क्षति र जलवायु उत्थानशीलताको आवश्यकताबारे चर्चा गरिएको थियो । सो क्रममा इन्जिनियर पाण्डेले ऊर्जा पूर्वाधारमा हालै भएका क्षतिबारे जानकारी गराउनुभएको थियो भने इप्पानकी सदस्य गैरेले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रले भोगिरहेका चुनौती प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले जलवायुजन्य क्षति र उत्थानशील पूर्वाधारसम्बन्धी क्षेत्रीय अनुभव तथा विश्वव्यापी नवीन प्रवृत्तिबारे जानकारी गराउनुभएको थियो ।
छलफलको दोस्रो सत्रमा जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक योजना तथा लगानीका विषयमा बहस भएको थियो । इन्जिनियर पाण्डेले जलवायु जोखिम सामना गर्न सरकारी योजना, रणनीति, ऊर्जा समिश्रण तथा ब्याट्री ऊर्जा भण्डारण प्रणालीको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो ।
इप्पानकी सदस्य गैरेले पूर्वाधार निर्माणसँग सम्बन्धित निजी क्षेत्रका चुनौती र जोखिमबारे धारणा राख्नुभएको थियो । जीजीजीआईका एकाइ प्रमुख वशिष्ठले संस्थाको ऊर्जा लगानीसम्बन्धी अनुभव, वित्तीय संयन्त्र तथा नेपालको उदाहरणका रूपमा नेपाल पूर्वाधार बैंक (निफ्रा) को हरित ऊर्जा बन्डबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा सांसद ढकालले भोटेकोशी क्षेत्रको स्थलगत अनुभव र अन्तर्राष्ट्रिय सिकाइ प्रस्तुत गर्नुभएको थियो ।
ऊर्जा मन्त्रालयका प्राविधिक तथा पूर्वाधार सल्लाहकार पाण्डेले कार्यक्रमले नीति निर्माता, अनुसन्धानकर्ता, विकास साझेदार तथा निजी क्षेत्रका प्रतिनिधिलाई एकै ठाउँमा ल्याएर ऊर्जा पूर्वाधारमा बढ्दो जलवायु जोखिम, नेपालको उत्थानशीलतासम्बन्धी प्राथमिकता र जलवायु उत्थानशील तथा स्वच्छ ऊर्जा प्रणालीमा लगानी जुटाउने उपायबारे गहन छलफल गर्ने अवसर प्रदान गरेको बताउनुभयो ।
यस्ता छलफलले जलवायु उत्थानशील ऊर्जा पूर्वाधार निर्माण तथा स्वच्छ ऊर्जा क्षेत्रमा लगानीको अनुकूल वातावरण बनाउन सहयोग पुग्ने उहाँको विश्वास थियो ।
