यु-१९ एसिया कप क्रिकेटमा पाकिस्तानसँग १०१ रनले पराजित हुँदै नेपाल बाहिरियो
काठमाडौँ, कात्तिक २४ । ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानसँग १०१ रनले पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याएको नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १७४ रनमा समेटियो ।
नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाउनुभयो । उहाँले ५४ बलमा तीन चौका प्रहार गर्नुभयो । त्यस्तै निरजकुमार यादवले ५९ बलमा २९, अभय यादवले १६ बलमा २३, सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाउनुभयो ।
सोहेल कुँवरले १४, रोशन शाहीले सात र आशिष लुहारले छ रन बनाउनुभयो भने कप्तान विपिन शर्मा एक रनमा अविजित रहनुभयो ।
पाकिस्तानका अहमद हुसेनले ३५ रन खर्चेर चार विकेट लिनुभयो । मोहम्मद हुजैफा र मोहम्मद सय्यमले समान दुई तथा जहाँगीर बिलाल र रिजवानुल्लाहले एक–एक विकेट लिनुभयो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७५ रन बनाएको थियो । पाकिस्तानका अहमद हुसेनले ७३ बलमा सात चौका र दुई छक्कासहित सर्वाधिक ८९ रन बनाउनुभयो । कप्तान फरहान युसुफले ९५ बलमा छ चौका र तीन छक्काको मद्दतले ७४ रन जोड्नुभयो ।
त्यस्तै हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ र उस्मान खानले १९ रन बनाउनुभयो ।
नेपालका लागि कप्तान विपिन शर्माले ५८ रन खर्चेर तीन विकेट लिनुभयो । सुशील रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक विकेट लिनुभयो ।
पाकिस्तानसँगको हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । नेपाल यसअघि भारतसँग १० विकेट र संयुक्त अरब इमिरेट्स (यूएई) सँग सात विकेटले पराजित भएको थियो । यससँगै नेपालले समूह चरणका तीनवटै खेलमा हार बेहोरेको छ ।
