१९औं एसियाली खेलकुद : क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित
काठमाडौं, १६ असोज । १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।
चीनको हान्झाउमा जारी पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको हो ।
नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न सकेनन् । नेपालले ९ विकेट गुमाएर १७९ रन मात्रै बनायो ।
नेपालका लागि कुशल मल्ल र सन्दीप जोराले समान २९ तथा ओपनर कुशल भुर्तेलले २८ रन बनाए । जोराले ३ छक्का र १ चौका प्रहार गरे । २२ बल खेलेका मल्लले २ चौका र २ छक्का हाने ।
१८ रन बनाएका करण केसी नट आउट रहँदै १३ बलमा उनले २ छक्का र १ चौका हानेका थिए ।
टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।