नेप्सेसंगै कारोबार रकम पनि घट्यो
काठमाडाैं, १८ असाेज । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।
यस दिन नेप्से परिसूचक ११.०४ अंक घटेर १०५६.९२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५३ अंक घटेको छ।
अघिल्लो कारोबार दिन १ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८० स्टकको ५० हजार ६९ पटकको कारोबारमा १ अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको ३५ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.३० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन इष्टर्न हाइड्रोपावरको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने हिमालयन लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।
कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ९.९४ प्रतिशत घटेको छ। त्यस्तै, मध्यभोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
सो इन्स्योरेन्सको यस दिन ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन नबिल बैंक, सोल्टी होटल, सन नेपाल लाइफ र हिमालयन लघुवित्तको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। बिहीबार होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत घटेको छ।