आजदेखि दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालन, कहाँ-कहाँ छन् पसल ?

काठमाडौं, २१ असोज । सरकारले आजदेखि दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गरेकाे छ ।

उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन गरिएको हो ।

सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुने मन्त्रालयले जनाएको छ ।

साल्ट्र ट्रेडिङले काठमाडौं उपत्यकाका सतुंगल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

उपत्यकाभित्र रामशाहपथ, थापाथली, नख्खु र भक्तपुरको सूर्यविनायक तथा विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट सहुलियत दरमा खाद्यान्न उपलब्ध हुनेछ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।

चाडबाडको समयमा सुपथ मूल्य पसलबाट सबै किसिमका उपभोग्य सामग्रीमा किलो वा लिटरमा ७ देखि १० रुपैयाँसम्म छुट पाउनेछन् ।