लगातारकाे गिरावटले ४ महिना यताकै न्यून विन्दुमा नेप्से

काठमाडाैं, २३ असाेज । नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेकाे छ । नेप्से परिसूचक पछिल्लो करिब साढे ४ महिना यताकै न्यून विन्दुमा झरेकाे हाे ।

यस दिन नेप्से परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३८ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १ अर्ब १७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ स्टकको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

यस दिन बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ। त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन २० करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ।