विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल र लाओस भिड्दै
काठमाडौं, २५ असाेज । विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग भिड्दै छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र लाओसकाे खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ ।
विश्वकप छनोट जस्तो ठुलो खेल अन्तराष्ट्रिय रुपमा नेपालका लागि सबैभन्दा ठुलो अवसर पनि हो । नेपाल जस्तो राष्ट्रले खेल्ने फिफाको सबैभन्दा ठुलो प्रतियोगितानै विश्वकप छनोट रहेको छ ।
काठमाडौंको त्रिपुरेश्वरमा पहिलो लेगको खेल हुन लागेको हो । दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् ।
विश्वकप छनोटकै लागि भनेर लामो समयदेखि तयारी गरिरहेको नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विगतभन्दा नेपालले फरक फुटबल खेल्ने दाबी गरेका छन् । उनले नेपाली टिम ट्याक्टिकल र फिजिकल रुपमा निकै बदलिएको दाबी गरेका छन् ।
नेपाली टिममा अमृत श्रेष्ठ र सञ्जिव विष्टले पहिलो पटक स्थान बनाएका छन् भने विदेशमा व्यवसायीक फुटबल खेलिरहेका कप्तान चेम्जोङ सहित रोहित चन्द र मनिष डाँगी राष्ट्रिय टिममा यथावत छन् ।
नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ ।