पाँचथरमा ढुङ्गाले लागेर एक कामदारको मृत्यु

पाँचथर, २९ असोज । पाँचथरमा ढुङ्गाले लागेर जलविद्युत् आयोजनामा कार्यरत एक कामदारको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत कामदार इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगरको ढुङ्गाले लागेर ज्यान गएको हो ।

आइतवार दिउँसो १ः४५ बजे ड्रिल मेसिनले ढुङ्गा निकाल्ने क्रममा आयोजनाको सुरुङ मार्गको स्प्रिङलाइनबाट खसेको ढुङ्गाले मगरलाई लागेको थियो ।

उक्त आयोजनाको सुरुङ निर्माण कार्यमा खटिएका मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनुभयो ।