नेप्सेमा सामान्य अंककाे सुधार
काठमाडाैं, ३० असाेज । नेप्सेमा सामान्य अंककाे सुधार भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाएसँगै यस दिन नेप्सेमा सुधार देखिएको हो।
मंगलबार नेप्से परिसूचक १३.१८ अंक बढेर १८६४.६२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.०८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १ अर्ब २५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २८९ स्टकको ४५ हजार ४५६ पटकको कारोबारमा १ अर्ब रुपैयाँ बराबरको ३८ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन हाथवे इन्भेष्टमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा जीआईसी इन्स्योरेन्सको ४ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन एनआईबिएल प्रगति फण्डको इकाईमूल्य सर्वाधिक ७.३५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर, सिद्धार्थ इक्विटी फण्ड र मेगा म्युचुअल फण्ड १ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। सर्वाधिक शेयर कारोबार भएको हाथवेको मूल्य यस दिन सबैभन्दा बढी ८.५३ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.३० प्रतिशत बढेको छ।