नेप्से सामान्य अंक घटेर बन्द

काठमाडाैं, २ कात्तिक । दशैं अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ४.०५ अंक घटेर १९०३.८४ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१३ अंक घटेको छ।

बिहीबार २८४ स्टकको २५ हजार ५२० पटकको कारोबारमा ९७ करोड ६ लाख १२ हजार रुपैयाँ बराबरको ३७ लाख ६६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ९० लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन प्रभु बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ भने नबिल बैंकको करिब ४ करोडको सर्वसाधारण शेयर किनबेच भएको छ।

कारोबारमा आएका १०६ स्टकहरुको मूल्य बढेपनि ति स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। सबैभन्दा बढी मूल्य बढेको स्टक भने सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ। सो फण्डको इकाईमूल्य यस दिन ५.८७ प्रतिशत बढेको छ।

त्यस्तै यस दिन बिपिडब्लु लघुवित्तको शेयरमूल्य ४.७६ प्रतिशत बढेको छ। यस दिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.२५ प्रतिशत घटेको छ। त्यस्तै, इन्फिनिटी लघुवित्त र आशा लघुवित्तको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ।