दशैंपछिको पहिलो कारोबारमै घट्याे नेप्से
काठमाडाैं, १२ । दशैं पछिको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा पुगेकाे छ ।
दिन सेन्सेटिभ इण्डेक्स ५.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक घटेको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २८३ स्टकको ३३ हजार ९६४ पटकको कारोबारमा ७३ करोड ९८ लाख ८७ हजार रुपैयाँ बराबरको २७ लाख ४ लाख हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य सर्वाधिक ८.९९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ भने घलेम्दी हाइड्रो र बिपिडब्लु लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ।
यसै दिनदेखि कारोबारमा आएको सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको शेयरमूल्य यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ३५० रुपैयाँमा पहिलो कारोबार भएको यस कम्पनीको शेयरमूल्य यस दिन ३५ रुपैयाँ घटेर ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६८ प्रतिशत घटेको छ।