सामान्य अंकले बढ्याे नेप्से

काठमाडाैं, १३ कात्तिक । नेप्से परिसूचक भने सामान्य अंक बढेर बन्द भएको छ । दशैं पछिको दोस्रो कारोबार दिन नेप्से परिसूचक भने सामान्य अंकले बढेकाे हाे ।

यस दिन नेप्से परिसूचक ३.०४ अंक बढेर १८७८.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ।

सोमबार नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २८७ स्टको ३० हजार २३७ पटकको कारोबारमा ९६ करोड ४२ लाख रुपैयाँ बराबरको २८ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७.८२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको ५ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको सोनापुर मिनरल्सको शेयर यस दिन पनि नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३१ रुपैयाँ ५० पैसा घटेर २८३ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन साधना लघुवित्तको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ। सो लघुवित्तको यस दिन ३ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन परिसूचक बढेका उपसमूहको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ।