शेयर बजारमा घट्यो नेप्सेसंगै कारोबार रकम

काठमाडाैं, १४ कात्तिक । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।

यस दिन नेप्से परिसूचक १४.२९ अंक घटेर १८६४.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.३४ अंक घटेको छ ।

अघिल्लो कारोबार दिन करिब ७० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २८६ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख ८३ हजार रुपैयाँ बराबरको २२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ५५ स्टकको मूल्य बढेको छ भने २१८ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य यस दिन स्थिर रहेको छ।

प्रिमियममा आईपीओ निष्काशन गरेको सोनापुर मिनरल्सको शेयर निरन्तर तेस्रो कारोबार दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गत आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ३० पैसा २५५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै यस दिन एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य यस दिन करिब ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १ करोड ७० लाख ११ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४६ प्रतिशत घटेको छ।