आयातका लागि स्वीकृतमा ढिलाई हुँदा बजारमा चिनी अभाव भयोः झा (अन्तर्वार्ता)

विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि चाडपर्वसँगै बजारमा चिनी अभाव भएको छ । सरकारले दसैं, तिहार जस्ता पर्वहरुमा चिनी अभाव हुन नदिने भने पनि त्यो संभव भएको छैन । बजारमा चिनी अभाव भएपछि अहिले साल्ट्र टे«डिङ कर्पोरेशनको केन्द्रीय कार्यालय रहेको काठमाडौं कालिमाटीमा खपिनसक्नुको भीड दिनहुँ बढ्ने गरेको छ । नेपाल साल्ट्र ड्रेडिङ कर्पोरेसनले भने बजारमा चिनी अभाव हुनुको एउटा कारण सरकारले स्वीकृति दिन गरेको ढिलाई भनेको छ ।
नेपालको उत्पादनले आधा मात्रै माग धान्ने भएकाले बाँकी भारतसँगै चिनीमा निर्भर बन्नुपर्ने अवस्था छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण पनि समस्या भएको साल्ट्र ट्रेडिङको भनाई छ । एकातिर भारतले निर्यातमा रोक लगाएकाका कारण सिर्जना भएको समस्या अनि अर्कोतिर छोटो समयमा टेन्डर गरेर अन्य मुलुकबाट ल्याउन नसकिने अवस्थाले गर्दा पनि चिनी अभावको समस्या खेप्न उपभोक्ता बाध्य भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सुरक्षा निकाय प्रमुख तथा वाणिज्य विभागका महानिर्देशक लगायतसँग केही दिन अघि छलफल गरेर तिहारमा अभाव हुन नदिने भनेपछि अहिलेसम्म त्यसले मूर्तरुप प्राप्त गरेको छैन । अहिले खुला बजारमा चिनी कालोबजारीमा बिक्री हुने क्रम रोकिएको छैन । व्यापारीले एक किलो चिनी १ सय ५० देखि १ सय ६० रूपैयाँमा बिक्री गरिरहेका छन् । यिनै विषयसँग केन्द्रित भएर साल्ट्र ट्रेडिङ कर्पोरेसनका विभागीय प्रवन्धक ब्रजेशकुमार झासँग मैत्रिन्युजले गरेको कुराकानीः
दसैं, तिहारका बेलामा मुख्य गरेर बजारमा चिनीको अभावले जनता निकै ठूलो मारमा पर्ने गरेका छन् । यो पटक पनि दसैंमा त्यस्तै भयो । अब तिहार नजिक आउँदै छ । तिहारमा पनि चिनी अभावले उपभोक्ता मारमा पर्ने देखिँदै छ । हरेक वर्ष यस्तो किन हुन्छ ?
मलाई जानकारी भएसम्म अहिले नेपालमा करीब १३ वटा चिनी मिल सञ्चालनमा छन् । ती मिलबाट वार्षिकरुपमा कहिले १ सय १०, कहिले १ सय १५ त कहिले १ लाख २० मेट्रिक टन चिनी उत्पादन हुने गरेको तथ्याङ्क देखिन्छ । कहिलेकाँहि १ लाख ५० हजारसम्म पनि उत्पादन भएको तथ्याङ्क र समाचारहरु तपाईँ–हामीले सुन्ने गरेका छौँ ।
तर, नेपालमा औधोगिक र घरायसी प्रयोजनका लागि भने वार्षिक रुपमा करीब तीन लाख मेट्रिक टन उत्पादन हुने गरेको छ ।
चिनी विभिन्न पेय पदार्थ, सिरफ (झोल) औषधीमा, मिठाइ, चकलेट, विस्कुट लगायतका उद्योगहरूमा समेत आपूर्ति हुन्छ । त्योसँगै मिठाईका प्रकारहरु दिनप्रतिदिन बढ्दै गएको तपाईँ–हामीले देख्ने गरेकै छौँ । अझ चाडपर्वका बेला घरमै सेलरोटी पकाउने, मिठाई बनाउनेलगायतका कारणले पनि अरुबेला भन्दा यो बेला चिनीको माग स्वाभाविक रुपमा बढ्छ ।
उत्पादन एक–डेढ लाख मात्रै हुने अनि उपभोग करीब तीन लाख भनेपछि हामीले बाँकी चिनी आयात गर्नुपर्ने हुन्छ । अहिले त्यो मात्राको चिनी वैध–अवैध दुबै बाटोबाट आउने गरेको पनि हामीले देखे–सुनेका छौँ ।
तर, व्यवस्थापन त गर्न सकिन्छ होला नि ?
साल्ट्र टे«डिङकै कुरा गर्नुहुन्छ भने हामीले करीब तीन वर्षदेखि नेपाल सरकारबाट स्वीकृत नपाएका कारण चिनी आयातको अवसर प्राप्त गरेका थिएनौँ । यो पटक हामीले भदौ १७ गतेको मन्त्रिपरिषद् निर्णयबाट १० हजार मेट्रिक टन चिनी आयतका लागि स्वीकृत पाएका छौँ । त्यो पत्र यहाँसम्म आइपुग्दा करीब असोजको २–३ गते भैसकेको थियो । हामीले त्यसपछि टेण्डरलगायतको औपचारिक प्रक्रियामा अघि बढ्दा अझ ढिला भैसकेको थियो ।
त्योसँगै भारत सरकारले चिनी निर्यातमा बन्देज लगाएको र त्यसको असर परेको बेला परिदियो । जसका कारण हामीले स्वीकृत पाएको चिनी पनि नेपाल ल्याउन संभव भएन । अन्तराष्ट्रिय बजारलाई हेर्ने हो भने अहिले चिनीको मूल्य बढेको अवस्था छ । त्यो मूल्यमा चिनी खरिद गरेर यहाँ ल्याएर बेच्न सक्ने अवस्था तत्कालै देखिदैँन । हामीले भारत बाहेक अन्य मुलुकबाट चिनी ल्याउने प्रक्रिया अहिले थाल्ने हो भने कम्तीमा तीन महिना लाग्न सक्छ ।
अहिले हामी त्यो तिर लाग्ने हो भने चिनी क्रसिङ मंसिरपछि सुरु हुन्छ । जसका कारण सहज र सस्तो मूल्यमा चिनी पाउने अवस्था हुन्छ र बढी मूल्यको चिनी अहिले नै हतार गरेर ल्याउँदा असर पर्ने देखिन्छ । यसरी हेर्दा र समग्रमा भन्दा अहिले चिनी अभावको मुख्य कारण समयमा निर्णय नहुनु नै हो भन्ने लाग्छ ।
चाडपर्व त झुक्किएर आउने होइनन् । क्यालेण्डर अनुसार नै आउने हो । यस्तो कुरामा त अघिदेखि नै व्यवस्थापन गर्दा उपभोक्ताहरु मरमा पर्ने थिएनन् कि ?
हो, हामीले त्यहि कुराको ख्याल गरेर नै १६ महिना अघि पत्राचार गरेको हो । उखुको आफ्नै चक्र हुन्छ । तीन वर्षपछि अर्थात चौथो वर्षमा उखुको उत्पादन कम हुन्छ । हामी बजारमा भएका कारणले यी कुराबारे जानकारी छ । हामीले त्यो अध्ययन गरेर नै यो वर्ष चिनी अभाव हुन्छ है भनेर सरकारलाई जानकारी गराएका थियौँ । उताबाट निर्णय आउन ढिला आउँदा पनि केही समस्या भयो भन्ने लाग्छ । अब उता किन र के कारणले ढिला भयो त्यो बारेमा भने तपाईँहरुले नै जानकारी लिदाँ ठिक हुन्छ होला जस्तो लाग्छ ।
साल्ट्र टे«डिङको आफ्नै विशेषता छ । चिनी, नुन, ग्याँसलगायतका चिज अन्त पाइएन भने पनि त्यहाँ गुणस्तरीय र सत्तो मूल्यमा पाइन्छ भन्ने छ । तपाईँहरुचाँहि उपभोक्ताको त्यो विश्वासप्रति कत्तिको सचेत हुनुहुन्छ ?
हाम्रा लागि प्रत्येक उपभोक्ता उत्तिकै महत्वपूर्ण हुन्छन् । उपभोक्ताहरुले पनि त्यो कुरा बुझिदिनुपर्छ । समस्याका बेलामा मात्रै साल्ट्र ट्रेडिङ खोज्ने होइन । अन्य समयमा पनि कारोबार गरेको अवस्थामा उहाँहरुले गुणस्तीय बस्तु, उचित तौल भएका र सुपथ मूल्यमा पाउनुहुन्छ । हाम्रो पनि व्यापार हुन्छ । अनि हामीलाई पनि मासिक माग यो है र हामीले यसरी व्यवस्थापन गर्नुपर्ने हुन्छ भन्ने थाहा हुन्छ । अरुबेला अरुतिर कुद्ने अनि समस्या पर्दा यहाँ आउने कुराले पनि हामीलाई व्यवस्थापनमा केही समस्या हुने गरेको छ । हामीलाई विक्री कसरी गर्ने भन्ने व्यवस्थापन सहज बनाउनका लागि पनि उपभोक्ताहरुले अरुबेला पनि यहाँसम्म आइदिनुहोला भन्ने आग्रह गर्न चाहन्छु ।
यहाँको सामान गुणस्तरीय छ भन्ने उपभोक्तालाई तपाईँहरुले अझै बुझाउ नसकेर पो हो कि ?
हामी सामान्य भाषामा भन्दा आम उपभोक्तालाई यहाँ किन्नुहोस् स्वस्थ्य रहनुहोस् भन्छौँ । गुणस्तर हाम्रो स्वास्थ्यसँग जोडिएको कुरा हो । यदि दालमा रंग मिसाइएको छ भने अर्थात रंग मिसाएर टिलिक्क टल्किने दाल बनाएर कसैले बेच्छन् भने त्यो आँखाले हेर्नका लागि मात्रै राम्रो हो । स्वास्थ्यलाई त्यसले राम्रो गर्दैन । पछिल्लो सयम उपभोक्ताहरु आफैँ पनि सचेत भएका छन् । त्यहि भएर साल्ट्र ट्रेडिङको माया पनि बढ्दै गएको छ ।
तपाईँहरुले उपभोक्ताबाट त अथाह माया पाउनु भएकै छ, अनि सरकारबाट नि ?
सरकारले हामी जस्तो संस्थालाई अझ बढी प्रयोग गर्न सक्नुपर्छ जस्तो लाग्छ । त्यो किन भने हाम्रो उपस्थितिले नै बजार निर्धारण हुन्छ । म तपाईँको लोकप्रिय सञ्चारमाध्यमबाट उपभोक्तालाई समेत जानकारी गराउने गरी एउटा अनुभव सुनाउँछु । केही वर्ष अघि दालको मूल्य अत्याधिक वृद्धि भयो । त्यो बेला सामान्य दालको मूल्य पनि करीब तीन सय जति पुगेको अवस्था थियो । अन्तराष्ट्रिय रुपमा पनि दालको मूल्य बढेको थियो ।
त्यो विषय तत्कालिन मन्त्रीज्युको ‘नोटिस’ मा आयो । उहाँले दालको मूल्य कसरी घटाउन सकिन्छ भनेर हाम्रो संस्थासँग छलफल गर्नुभयो र केही उपायहरु सुझाउन पनि आग्रह गर्नुभयो । हाम्रो संस्थाको नेतृत्वले त्यतिबेला एउटा नयाँ उपाएको खोजी गर्नुभयो । नेपालमा क्वाँटीको चलन छ । सबैथोक गेडागुडी मिसाएपछि क्वाँटी बन्छ । उहाँले त्यसैलाई मिसाएर ‘मिक्स’ दाल बेच्ने अवधारण ल्याउनुभयो । त्यो दाल हामीले निकै सस्तोमा बेच्न सक्यौँ । हामीले सस्तोमा दाल बेच्न थालेपछि बजारमा पनि दालको मूल्य ह्वात्तै घट्यो ।
साल्ट्र टे«डिङमा चिनीलगायतका बस्तु रहुन्जेल बजारमा ती बस्तुको मूल्य स्थीर रहन्छ । बजारलाई स्थीर राख्न साल्ट्र टे«डिङ वा साल्ट्र टे«डिङ जस्ता संस्थालाई अझै बढी प्रोत्साहन गर्दै सरकारले कामको जिम्मेवारी दिन सक्नुपर्छ ।
कतिपय अवस्थामा त समन्वय नहुँदा पनि समस्या हुने गरेको छ । त्यस्तो पनि हो ?
नेपालमा धेरै यस्ता बस्तु छन् जुन सय प्रतिशत नै आयात गर्नुपर्ने हुन्छ । त्यो मध्ये नुन पनि एक हो । नुन सय प्रतिशत आयात गर्नुपर्छ । अझ ९९ प्रतिशत भन्दा बढी आयात त हामीले नुन भारतबाटै गर्दै आएका छौँ ।
तर, तपाईँले आजसम्म ०४६ सालको जनआन्दोलन होस, ०५२ को बाढी होस या २०६२–०६३ को जनआन्दोलन होस अथवा पहिलो मधेस आन्दोलन वा भूकम्पका बेला नै किन नहोस अर्थात त्यस लगत्तैको मधेस आन्दोलन र अघोषित नाकाबन्दीकै केला किन नहोस् नुन अभाव भएको सुन्नु भएको छ ? छैन नि ? नुन सधैँभरी सहज उपलब्ध हुँदै आएको छ । अहिले काठमाडौं वा कतै नुन पाइन्छ होइन तपाईँको हरेक घर पायकको पसलमा नुन सहजरुपमा पाइन्छ भन्ने छ । यो सबै नेपाल सरकारको नीतिगत निर्णय र कार्यान्वयन पक्ष बलियो भएकाले सम्भव भएको हो ।
सरकारले सबै नुन साल्ट्र टे«डिङमार्फत उपलब्ध गराउने भनेर नीतिगत निर्णय गर्यो । साल्ट्र टे«डिङले त्यसलाई बलियो गरी कार्यान्वयन गर्यो । नुन जस्तै अरु बस्तुको पनि नीतिगत निर्णय राज्यले गरेर कार्यान्वयनको जिम्मेवारी दिने हो भने नुन जस्तै अभाव हुन नदिने क्षमता हामीसँग छ ।
अन्त्यमा
सम्पूर्ण व्यापारी जगतलाई पनि म भन्न चाहन्छु । गुणस्तरीय बेचौँ, उपभोक्ताले पनि गुणस्तरीय किनौँ । राम्रोसँग चाडपर्व मनाऔँ । हामी पनि तपाईँहरुलाई गुणस्तरीय सेवा दिन तयार छौँ ।