नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, १९ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको हाे ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय ५४ कित्ता शेयर रु ९७ करोड २३ लाख ६७ हजार दुई सय ७८ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबार रकमका आधारमा नबिल बैंकको संस्थापक शेयर शीर्ष स्थानमा छ । सो बैंकको रु चार करोड ६० लाख ८० हजार बराबरको कारोबार भयो ।
नेप्सेका अनुसार एनआइसी एशिया लघुवित्त छ दशमलव ९७, तारागाउँ रिजेन्सी होटल पाँच दशमलव ४७, माया खोला हाइड्रोपावर चार दशमलव २५, एशियन हाइड्रोपावर तीन दशमलव ७५ र नेशनल लघुवित्तका लगानीकर्ताले दुई दशमलव ५७ प्रतिशतले कमाएका छन् ।
हिमालयन लघुवित्त १०, बाराही लघुवित्त सात दशमलव ९८, युनाइटेड आइडीआइ मर्दी हाइड्रोपावर छ दशमलव ७६, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ७३ र सबैको लघुवित्तका लगानीकर्ताले पाँच दशमलव ५६ प्रतिशतले गुमाएका छन् ।