एसिसी यु-१९ एसिया कप : नेपाल पाकिस्तानसँग भिड्ने
काठमाडौं, २२ कात्तिक । एसिसी यु-१९ एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यु- १९ एसिया कपको खेल तालिका बुधबार सार्वजानिक गरेको हो।
यु-१९ एसिया कप ८ देखि १८ डिसेम्बरसम्म युएईमा हुँदै छ। यसअघि एसिया कप पाकिस्तानमा हुने तालिका थियो। तर भारत जान नमानेपछि युएईमा सारिएको हो।
समूह ‘ए’ मा नेपालसहित पाकिस्तान, अफगानिस्तान र भारत रहेका छन्। समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान रहेका छन्।
नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्ने छ। त्यस्तै, दोस्रो खेलमा नेपालले १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्ने कार्यतालिका रहेको छ।
नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यु-१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो।