विदेशमा रहेर श्रम स्वीकृति भएका मतदाताकाे नामावली संकलन गर्ने कार्यविधि तयार
काठमाडौं, २४ कात्तिक । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीकाे मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ ।
आयोगका अनुसार तयार कार्यविधिमा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ ।
आयोगले दिएकाे जानकारी अनुसार प्रक्रिया शुरु भइसकेकाेले पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गर्ने तयारी छ ।
आयोगले सम्बन्धित देशको कूटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठा छाप संकलन गर्ने जनाएको छ । साथै, विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने पनि आयोगको कार्यविधिमा उल्लेख छ ।
मतदाता नामावलीमा नाम दर्ता गराउन चाहने विदेशमा रहेका नेपाली नागरिकले श्रम स्वीकृति लिएको हुनुपर्ने छ । अनलाइनबाट नाम दर्ता गर्दा वा कूटनीकि नियोगमा पुगेर नाम दर्ता गर्दा सम्बन्धित देशको लागि प्राप्त गरेको प्रवेशाज्ञा वा श्रम स्वीकृति अनिवार्य गरिएको छ ।
विदेशमा रहेका नेपालीहरुको नामावली संकलनको सम्बन्धमा अनुगमन गर्न केन्द्रीय समन्वय तथा अनुगमन समिति रहने भनिएको छ । निर्वाचन आयोगका सचिवको संयोजकत्वमा हुने समितिमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालयका सहसचिव समेत सदस्यका रुपमा रहन्छन् ।