यमपञ्चककाे पहिलाे दिन आज काग तिहार

काठमाडौँ २५ कात्तिक । नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात तिहार आजदेखि सुरूभएकाे हाे ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ ।

यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।

यमपञ्चकका दिन यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएकाे छ । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ ।