महिला टी–२० सिरिजमा नेपालले आज हङकङसंग खेल्दै
काठमाडौं, ३० कात्तिक । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसंग खेल्ने छ ।
नेपाल र हङकङकाे उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो ।
आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ । टस जितेर जापानले पहिला फिल्डिङ रोजेको छ ।
नेपाल पहिलो खेलमा बुधबार तान्जानियासंग २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।
नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो । हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ ।
