महिला टी–२० सिरिज : नेपाल हङकङसँग पराजित
काठमाडौं, ३० कात्तिक । चार देश सम्मिलित टि ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जेनिया पनि फाइनलमा पुगेको छ ।
हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा ३० रनको योगदान दिएकी हुन । त्यस्तै शानजिन शहजादले २० रन बनाइन् । मारिको हिलले ५ रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १८ ओभरमा सबै विकेट गुमाउँदै ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रविना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् । रविनाबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ हङकङकी लक्रा साहरले तीन विकेट लिइन् भने रुचिथा भेनकातेसले दुई विकेट झारिन । त्यस्तै बेटृी चान, मरिको हिल र करि चानले समान एक/एक विकेट लिए ।
चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । ्र
