भारतलाई हराउँदै अष्ट्रेलिया बने छैठौंपटक विश्व च्याम्पियन

काठमाडौं, ४ मंसिर । भारतलाई हराउँदै अष्ट्रेलिया छैठौंपटक एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ ।

आइतबार भएको १३ औँ संस्करणको फाइनलमा अष्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गर्यो । अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको हो ।

भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले अविजित ५८ रन जोडे। यी दुईबीच चाेथाे विकेटका लागि १९५ रनको साझेदारी भयो ।

त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका थिए ।

अष्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो । भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए ।