नेपालगञ्ज म्याराथनको नवौँ संस्करणकाे तयारी

बाँके, ६ मंसिर । बाँकेमा विस्तृत शान्ति सम्झौताको सम्झनामा हुँदै आएको ‘नेपालगञ्ज म्याराथन’को नवौँ संस्करणको तयारी गरिएको छ ।

यही मङ्सिर ९ गते हुने उक्त म्याराथनमा १४ विधामा प्रतिस्पर्धा हुने नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

“एशोसियशन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स)बाट मान्यता प्राप्त म्याराथनलाई अझ भब्य बनाउन चार विधा थपेर १४ पुर्‍याइएको छ”, उहाँले भन्नुभयो, “स्कुल स्तरियअन्तर्गत कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मका लागि जिल्ला बाह्य र जिल्लाका गरी अलग अलग प्रतिस्पर्धा राखिएको छ ।”

ठकुरीका अनुसार, पुरुषतर्फ म्याराथन (४२ दशमलव १९५ किमि), महिलातर्फ हाम म्याराथन (२१ किमि), १० किमी खुल्लामा पुरुष र महिला, पाँच किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८ देखि १२ वर्षसम्म) तथा पाँच किमीका कर्पोरेट रन, ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडमा बाँके र बाह्य जिल्लालाई छुट्याइएको उहाँले जानकारी दिनुभयो । बाँके जिल्लाको हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ कक्षासम्मको अलगअलग पाँच किमी छुट्याइएको उहाँले बताउनुभयो ।

आयोजक क्रियटिभ ह्याण्डसले यस वर्षको म्याराथनमा नगद पुरस्कार राशिमा वृद्धि गर्ने जनाएको छ । संस्थाका अध्यक्ष ठकुरीले यसपाली सरप्राइज प्याकेज पनि घोषणा गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *