तीनकुनेको हरियाली छोप्ने रातामान्छे र ‘राजतन्त्रको प्रेत’ हटाउने शङ्खनाद (भिडियो रिपोर्ट)
काठमाडौं, ७ मंसिर । अराजक र अपराधिक मनोवृत्तिसहित केहीले पछिल्लो समय गणतन्त्रलाई नै ठाडो चुनौती दिएर विभिन्न बाहनामा देशमा अशान्ति मच्याउने र त्यसैको आडमा राजावादी मुकुट लगाएर प्रेत बनिसकेको राजतन्त्र फर्काउने हुँकार गरेको भन्दै एमाले निकट युवा र विद्यार्थी संगठन त्यसको प्रतिरोधमा उत्रिएका छन् ।
केही महिनादेखि विवादित छविका व्यक्ति दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाह गराउने जस्तो अशंभव काल्पनिक सपना देखाएर त्यसैको नाममा काठमाडौंमा राजावादीहरु उफार्ने रणनीति बनाएपछि युवा संघले त्यसको विरोध गर्दै आएको थियो । युवा संघका इञ्चार्ज समेत रहनु भएका एमाले युवा नेता महेश बस्नेतले त खुलेरै दुर्गा प्रसाईँका विरुद्धमा होइन अहिले लोकतन्त्रलाई नै विभिन्न बाहनामा चुनौती दिने प्रवृत्तिका विरुद्ध सडकमा निस्किनु पर्ने बाध्यता भएको उद्घोष गर्दै आउनु भएको थियो । अराजक र अपराधिक मनोवृत्तिका व्यक्तिहरुको उक्साहटमा दुर्गा प्रसाईँ उफ्रिरहेका बेला युवा सघं नेपाल र अनेरास्ववियुले तीनकुनेमा आज ‘युवा–विद्यार्थी विशेष कार्यक्रम’ को आयोजना गरेको छ ।
विभिन्न व्यक्तिलाई भाडामा ल्याएर आशान्ति मच्याउने प्रसाईंले नेतृत्व गरेको झुण्डले बल्खुमा अराजक गतिविधि गरेपछि प्रहरीले बाध्य भएर बलप्रयोग गर्नु परेको थियो । तर, १५ हजार बढी स्वयंसेवक र हजारौँको उपस्थिति रहको युवा संघ र अनेरास्ववियुले नेतृत्व गरेको तीनकुनेको आन्दोलन भने शान्तिपूर्ण बनेको छ । अरुबेला हरियाली देखिने तीनकुने आज रातामान्छे र राता झण्डाले रक्ताम्य बनेको थियो । मुलुकमा अहिले भैरहेको महंगी, भ्रष्टाचार, बेथिति, अराजकता जस्ता विकृतिका विरुद्ध शङ्खघोषसहित गगनभेदी नारालगाउँदै युवा–विद्यार्थी तीनकुनेमा भेला हुँदै गर्दा त्यहाँको माहोल निकै रोमाञ्चक बनेको थियो । मुलुकमा बढ्दै गएको अराजकता र सरकारको निरीहताले देश नै असफलउन्मुख हुने अवस्थामा पुगेपछि युवा–विद्यार्थी आफ्नो दायित्व पूरा गर्न तमाम युवा र देशवासीमा उर्जा भर्न मैदानमा उत्रिनु परेको उद्घोण बस्नेतले गर्दा त्यहाँको माहोल जुरुक्क उठेको थियो ।
मुलुकमा बढ्दै गएको अराजकता र सरकारको निरीहताले देश नै असफलउन्मुख हुने अवस्थामा पुगेपछि युवा–विद्यार्थी आफ्नो दायित्व पूरा गर्न तमाम युवा र देशवासीमा उर्जा भर्न मैदानमा उत्रिनु परेको उद्घोण बस्नेतले गर्दा त्यहाँको माहोल जुरुक्क उठेको थियो ।
आतंक सिर्जना गर्ने नभई राजतन्त्रको प्रेतलाई धूपधुवाँर गरेर केही अराजकत तत्वहरुले गणतन्त्रवादीहरुलाई बदनाम गराउने हर्कत गरेपछि बोक्सी, डंकिनी, भूतप्रेत आउँदा धूपधुवाँर गरेर भगाउने र सकारात्मक उर्जा पैदा गर्ने सामाजिक संस्कार जस्तै राजतन्त्र नामको भूतप्रेत भगाउने अभियानमा उर्जाका साथ जुटेको भन्दै युवाहरु एक हातमाराष्ट्रिय झण्डा र अर्को हातमा युवासंघ र अनेरास्ववियुका झण्डा बोकेर तालमा ताल लयमा लय मिलाएर तीनकुनेलाई फन्को मारिरहेका दृष्यले धेरैलाई एमाले सडकमा ओर्लियो भने त्यसको उर्लिदो शक्तिले अरुलाई सजिलै बढारिदिन सक्छ भन्ने सन्देश पनि त्यो आन्दोलनले दिएको जस्तो भान हुन्थ्यो । सरकारले गरेको महंगी, भ्रष्टाचार, अनियमितता जस्ता कुराको अन्त्यका लागि सरकारलाई ब्युँझाउने प्रयासका रुपमा पनि त्यो आन्दोलनलाई कोशेढुंगा बनाएको शङ्खघोष त्यहाँ उपस्थिति युवा–विद्यार्थीहरुले गरिरहेका थिए ।
पछिल्लो समय अराजक गतिविधिले समाज भाँड्ने बाहेक केही गर्न नसकिरहेका बेला युवा–विद्यार्थीहरुले गरेको यो प्रयास गणतन्त्र रक्षाका लागि पनि संञ्जिवनी बुटी बन्ने छ । मुलुकमा आतंक फैलाएर आफ्नो अभिष्ट पूरा गर्ने हर्कतमा कोही पनि लाग्नु हुँदैन । देश रहेमात्रै हामी रहने हौँ । अहिले प्रसाईँ जस्ता व्यक्तिहरुले देशलाई भारतमा विलय गर्ने जस्ता राष्ट्र विरोधी अभिव्यक्ति दिदैँ हिडिरहेको देखिन्छ ।
यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुको अर्को विकल्प छैन । अहिले जुन ढंगले गणतन्त्रमाथि नै धावा बोल्ने हर्कत भएको छ । यो निन्दनीय छ । यस्तो प्रवृत्तिलाई राज्यले नियन्त्रणमा लिनुपर्ने हुन्छ । अहिले युवा–विद्यार्थीले गरेको यो अभियानलाई प्रतिकारका रुपमा हेरेर कमजोर बनाउने भन्दा पनि यो पुनरुत्थानवादीहरुलाई उठ्न नदिने र गणतन्त्र रक्षाका लागि उर्जा भर्ने आन्दोलनका रुपमा लिनु श्रेयकर हुन्छ ।