केपी ओली कप राष्ट्रिय क्रिकेटमा बागमती सेमिफाइनलमा
कास्की, ८ मंसिर । पोखरामा जारी ‘केपी ओली कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट’ प्रतियोगितामा बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ ।
बागमतीले लगातार दुई खेल जित्दै प्रतियोगिताको अन्तिम चारणमा पुगेको हो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्न सफल भयो ।
खेलमा टस जितेर व्याटिङ सुरु गरेको बागमतीले रित गौतम र इशान पाण्डेको अर्धशतकीय पारीमा छ विकेटको क्षतिमा एक सय ८९ को विशाल योगफल तयार गरेको थियो ।
बागमतीका गौतमले १० चौका र दुई छक्कासहित सर्वाधिक ८२ रन बनाए भने पाण्डेले चार चौका र छ छक्कासहित ७० रनको योगदान दिए ।
जवाफी व्याटिङ थालेको कर्णाली प्रदेश भने १७ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्रै जोड्न सक्यो । बागमतीका कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि कर्णालीलाई लक्ष्य भेट्टाउन सकस भएको थियो ।
बागमतीका दीपेश श्रेष्ठले दुई तथा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतीश जिसीले समान एक/एक विकेट लिए । बागमतीले शुक्रबार उद्घाटन खेलमा आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी(रातो)लाई पराजित गरेको थियो ।
बागमतीको समूहमा आयोजक रातो र कर्णाली प्रदेश रहेका छन् । बागमतीले आफ्नो समूहका दुवै खेल जितेको हो ।
प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रू पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रू दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने एकेडेमीका अध्यक्ष ध्रुव्र आचार्यले जानकारी दिनुभयो ।
