अमेरिका पठाइदिने भन्दै १४ लाख ठग्ने आमा छोरा पक्राउ

काठमाडौं, १३ मंसिर । प्रहरीले अमेरिका पठाइदिन्छु भनेर रकम ठगी गर्ने एकै परिवारका आमा र छोरालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका वडा नं. १४ बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया उनकी आमा शान्ति श्रेष्ठ पक्राउ परेका हुन् ।

चन्द्र बहादुर रावललाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिन्छु भन्दै रकम असुलेको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

उनीहरूले अमेरिका पुर्‍याउने र प्रतिष्ठित कम्पनीमा मासिक ३ लाख रुपैयाँ तलब हुने कामको खोजीका लागि ४० लाख रुपैयाँ लाग्ने विश्वास दिलाइ रावलबाट १५ लाख रुपैयाँ लिएको उजुरीमा उल्लेख रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनीहरुलाई बानेश्वरबाट पक्राउ गरेको हो । रावलबाट १५ लाख रुपैयाँ लिइ विशाल सम्पर्कविहीन भएका थिए ।