सेयर बजारमा दोस्रो ‘सर्किट ब्रेक’, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं, २४ मंसिर । सेयर बजारमा आइतबार दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि २० मिनेट स्थगित भएर फेरि खुलेको कारोबारमा २ मिनेटमै अघिल्लो दिनको तुलनामा ५ प्रतिशत वृद्धि भएपछि दोस्रो सर्किट ब्रेक लागेको हो ।

दोस्रो सर्किट लागेपछि सेयर बजारको परिसूचक नेप्से ९२.७ अंक बढेर १९४५ अंकमा कायम भएको छ । दोस्रो सर्किटसंगै कारोबार ४० मिनेटका लागि स्थगित भएको छ ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।