सेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, कारोबार भयाे बन्द

काठमाडौं, २४ मंसिर । आइतबार सेयर बजारमा तीन पटक ‘सर्किट ब्रेक’ लागेको छ । सेयर बजारमा तेस्रो पटक पनि ‘सर्किट ब्रेक’ भएपछि कारोबार बन्द भएकाे हाे ।

कारोबार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ः २५ मा दोस्रो पटक खुलेको बजारमा फेरी सर्किट ब्रेक लाग्यो र ४० मिनेटका लागि कारोबार स्थगित भएर १२: ०७ बजे सुरु भएको कारोबारमा फेरि २ मिनेटमै अघिल्लो दिनको तुलनामा ६ प्रतिशत बढेपछि तेस्रो सर्किट ब्रेक लागेको हो ।

योसँगै आइतबारका लागि सेयर कारोबार बन्द भएको छ । आइतबार सेयर बजारको परिसूचक नेप्से १११ अंक बढेको छ । नेप्से १९६३ अंकमा कायम भएको छ । आइतबार ९ मिनेटमा ४८ करोड २४ लाख रुपैयाँको कारोबार भयो ।

बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० मिनेटलाई ब्रेक लाग्छ। त्यस्तै, दुई घण्टा नबित्दै ५ प्रतिशतले बढे ४० मिनेटको लागि ब्रेक लाग्छ। र, जुनसुकै समयमै ६ प्रतिशतले बढेमा सो दिनकै लागि कारोबार बन्द हुन्छ।

शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो ।

यस दिन जलविद्युत् समूह सबैभन्दा धेरै ८.६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन समूह ६.७, बैंकिङ ५.६, विकास बैंक ६.५, फाइनान्स ६.५, लगानी ६.४, जीवन बीमा ५.३, माइक्रोफाइनान्स ५.६, उत्पादन ४.८, निर्जीवन बीमा ५.२, अन्य ४.५ र ब्यापार उपसमूह ५.८ प्रतिशतले बढेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *