नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

काठमाडौं, २४ मंसिर । यूएईमा जारी यू-१९ एसिया कपमा नेपाल अफगानिस्तानसँग पराजित भएकाे छ । आज भएको खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले हराएकाे हाे । याे नेपालकाे लगातार दोस्रो हार हाे ।

नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै अविजित ९१ रन बनाए । नेपाल ४०.१ ओभरमा अलआउट भएको छ । अर्जुन अन्तिम विकेटका रूपमा आउट भए । १ सय ८ बल खेलेका अर्जुनले १३ चौका प्रहार गरे ।

नेपाल अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । विपिन रावल ०, दीपक बोहरा १५, उत्तम मगर ४, आकाश त्रिपाठी ०, गुल्सन झा १७, दीपेश कडेँल ११, र कप्तान देव खनाल २४ रन बनाएर आउट भए ।

नेपाललाई सस्तोमा समेट्न अफगानिस्तानका फरिदुन दाउदजई र नसीर खान मारुफखिलले ३–३ विकेट लिए ।

यसअघि दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २ सय ६१ रन बनाएको थियो ।

अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ५३ बलमा १ सय ६ रनको सतकीय इनिङ सतकीय इनिङ खेलेका थिए ।

नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २–२ विकेट लिए । आकाश चन्द्र र दीपेश कँडेलले १–१ विकेट लिए ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।