रक्तदान गर्दै मनाइयाे संसद् सेवा दिवस

काठमाडौँ, २५ मंसिर । सत्रौँ संसद् सेवा दिवस आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै मनाइएकाे छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सङ्घीय संसद् सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हरेक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाइँदै आइएको छ ।

विसं २०५९ मंसिर २८ गते निजामती सेवाबाट संसद् सेवालाई अलग्गै विशेष सेवाका रुपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।