नेत्रहीन महिला क्रिकेटमा नेपालले भारतलाई १० विकेटले हरायो
काठमाडौं, २७ मंसिर । भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा बुधबार नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।
भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सिरिजमा पहिलो जित दिलाएका हुन् ।
दुवैले अविजित रहँदै अर्धशतक बनाए । बिनिताले ६० बल खेल्दै ७८ रन बनाइन् भने मनकेशीले ५७ बल खेल्दै ७५ रन जोडिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
भारतका लागि सिमु दासले सर्वाधिक ८४ रन बनाइन् । उनी ६१ बल खेल्दै ८४ रनमा नटआउट रहिन् । यस्तै सुनिता स्राथी २७ बलमा ३१ रन बनाउँदै अविजित रहिन् । सुष्मा पटेल र रभान्नीले समान १४ रनको योगदान दिए ।
भारतका चार खेलाडी रन आउट भएका थिए । नेपालकी बिनिता पुनले २ तथा सरिता घिमिरे र निशा गौराले १-१ रनआउट गरे । अब नेपाल र भारतबीच सिरिजको चौथो खेल बिहीबार हुनेछ ।
