बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

बाजुरा, १ पुस । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

आज साँझ बडिमालिका नगरपालिका-२ मार्तडीबाट गौमूल जाने क्रममा खडीगाडमा दुईवटा ट्याक्टर एक अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर खोलामा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खस्दा चालक गौमूल गाउँपालिका-६ का हिक्मत रोकाय, ट्याक्टरमा सवार बडिमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जैशी, ३३ वर्षीया करिश्मा रोकाय र वडा नं १ का ३५ वर्षीय चन्द्र दानीको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले थाहा खबरलाई जानकारी दिए।

लु ४ त ७३०५ नम्बरको ट्याक्टर भने भित्तामा ठोक्किएको छ। प्रहरी टोली घटनास्थल पुग्दा उक्त ट्याक्टरका चालक भागिसकेको डिएसपी बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस्तै अर्काे लु ३ त ७३०५ नम्बरको ट्याक्टर पनि दुर्घटना भएर भित्तामा बजारिएको छ। सो ट्याक्टर दुर्घटनामा के कति क्षति भयो भन्नेबारेमा जानकारी प्राप्त हुन बाँकी छ।