नेप्से परिसूचकको उकालो यात्रा जारी, कारोबार रकम ७ अर्ब माथि
काठमाडौँ, ४ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार नेप्से सूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेको छ।
नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दै गएको छ। बुधबार ७ अर्ब ९५ लाख रुपैयाँको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ।
यस दिन लगानी र उत्पादनमूलक उपसमूहको कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। बुधबार लगानी तथा प्रशोधन उपसमूहको सूचक ७.१५ प्रतिशतले बढेको छ जसमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यता लगानी उपसमूहको सूचक पनि ६.९२ प्रतिशतले बढेको छ जसमा २ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।
सोल्टी होटल रू चौबिस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धनवृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।