एनएसएलमा काठमाडौंलाई हराउँदै ललितपुर क्वालिफायरमा

काठमाडौं, १० पुस । नेपाल सुपर लिग एनएसएलमा काठमाडौं रेजर्सलाई ३-० ले हराउँदै ललितपुर सिटी क्वालिफायरमा पुगेको छ ।

काठमाडौंकाे दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सलाई ललितपुर सिटीले ३-० ले हराउँदै क्वालिफायरमा पुगेको हाे ।

ललितपुरलाई जिताउन इमोह इजेकेलले २ तथा पापा इबोउले १ गोल गरे । इमोह इजेकेलले ३६ ‍औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

पापा इबोउ केबेले हानेको प्रहार काठमाडौंका किपर अन्जल महर्जनले पूर्ण रुपमा क्लियर गर्न नसक्दा रिबाउण्डमा अनमार्क रहेका इमोहले गोल गरे । यस्तै ४४ ‍औं मिनेटमा पापा इबोउ केबेले रिबाउण्ड बललाई गोल गर्दै अग्रता २-० बनाए ।

इमोह इजेकेलले ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३-० को अग्रता दिलाए । इमोहले निखिल कदमको फ्रिकिक सदुपयोग गर्दै हेडमार्फत गोल गरेका थिए ।

३-० ले पछि परेको काठमाडौंका कप्तान अन्जन राई दोहोरो पहेँलो कार्ड पाउँदै ७४ औं मिनेटमा बाहिरएपछि काठमाडौं झनै दबाबमा परेको थियो ।

ललितपुरले एनएसएल इतिहासमा चौथो खेलमा आएर काठमाडौं विरुद्ध गोल गर्दै खेल जितेको हो । फाइनल प्रवेशका लागि क्वालिफायरमा अब ललितपुरले पोखरा थन्डर्ससँग बिहीबार खेल्ने छ ।