सुन तस्करी प्रकरणमा आयोगले समयावधि थपेर सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान गर्नुपर्छ : प्रमुख सचेतक गिरी
काठमाडौं, १५ माघ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रभावकारी नभएका कारण जाँचबुझ आयोगले समयावधि थपेर अनुसन्धान गर्नुपर्ने बताउनुभएकाे छ ।
आइतबार सुन तस्करी नियन्त्रण तथा जाँचबुझ आयोगले दलका प्रतिनिधिहरुसँग गरेको छलफलमा सहभागी एमाले प्रमुख सचेतक गिरीले सरकारले गठन गरेको जाँचबुझ आयोगकाे अनुसन्धान फितलाे भएकाे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘जाँचबुझ आयोगको समयावधि थपेर मात्रै सुन काण्डको अनुसन्धानले परिणाम ल्याउन सकिन्न । यो काण्डमा जोडिएका सत्ता पक्षका नेताहरुमाथि पनि अनुसन्धान हुनुपर्छ ।’
सरकारले सुन तस्करी प्रकरणको जाँचबुझ गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको थियाे । आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थ मन्त्रालयका पूर्वसहसचिव किशोरजंग कार्की र गृह मन्त्रालयका पूर्वसहसचिव प्रेमराज जोशी सदस्य हुनुहुन्छ ।
आयोगलाई विद्युतीय चुरोट (भेप) र ब्रेक शुमा लुकाएर गरिएको सुन तस्करी लगायतका विषयमा अनुसन्धान गर्ने जिम्मेवारी छ । साथै तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र संलग्न व्यक्तिहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएमा अनुसन्धान गरी कारबाहीका लागि सिफारिस गर्ने कार्यादेश दिइएको छ ।
यसअघि सुन तस्करीसँग सम्बन्धित कुनै सूचना वा कागजात कसैसँग भए उपलब्ध गराइदिन सार्वजनिक आह्वान गरेको आयोगले आइतबार दलका नेताहरुसँग छलफल गरेको थियो ।
आयोगसँगको छलफलमा नेकपा एमालेका प्रमुख सचेतक गिरीसहित नेपाली कांग्रेसकी सचेतक सुशीला थिङ, माओवादी केन्द्रकी सचेतक रुपा शोसी चौधरी र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार सहभागी हुनुहुन्थ्याे ।
छलफलमा बोल्दै एमाले प्रमुख सचेतक गिरीले ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ किलो मात्र भयो भनेर प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘भेटिएको भनिएको ब्रेक सुको तौल ९५० ग्राम छ । एउटा ब्रेक सुमा ५५० ग्राम सुन भएको देखिन्छ । अरु बाँकी ४०० ग्राम ब्रेक सु नै हो । यसो गर्दा सुन सहितको ब्रेक सुको जम्मा तौल १५४ केजी भनिएको छ । तर ब्रेक सुबाट सुन निकाल्दा कसरी ६१ केजी सुन कायम भयो ? हुनुपर्ने ११० केजी थियो ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको ट्याक्सीलाई गोदामसम्म पुग्न दिएर समातेको भए अझै धेरै कुराहरु खुल्न सक्ने भन्दै उहाँले ट्याक्सी चालकलाई नियन्त्रणमा नलिएर तारेखमा छोडिएको र सुन गाल्ने गरिएको गोदाममा तीन दिनपछि मात्र खानतलासी गर्नुले धेरै शंका उब्जिएको बताउनुभयाे ।
उहाँले भन्नुभयाे, ‘भेपमा आएको भनिएको ९.५० केजी सुन बराद भएता पनि अहिलेसम्म सरकारले किन सार्वजनिक नगरेको ? त्यो सुन कहाँ छ’ ? भेप प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल प्रहरी नियन्त्रणमा छन् । सुन तस्करी सरकारको सेटिङ विना हुनै नसक्ने जिकीर गर्दै उहाँले यसमा सत्ता गठबन्धन दलका अन्य नेताहरुको पनि संलग्नता हुनसक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान गर्न आग्रह गर्नुभयाे ।